– सन्दीप तामाङ
सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधार मान्दै आएको छ। यस चर्चको मुख्य विशेषता भनेको परमेश्वरको आज्ञापालन, सातौँ दिन अर्थात् शनिबारलाई विश्राम दिनका रूपमा पालन गर्नु तथा सृष्टिकर्ताप्रतिको विश्वासलाई केन्द्रमा राख्नु हो।
नेपालको संविधानले धार्मिक स्वतन्त्रताको सुनिश्चितता गरे पनि पछिल्ला वर्षहरूमा इसाई समुदायमाथि विभिन्न प्रकारका आलोचना र विरोध भएका घटनाहरू देखिएका छन्। यस्ता विषयमा विभिन्न ख्रीष्टियन संघ–संस्थाले आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्। मेरो बुझाइमा सेभेन्थ डे एड्भेन्टिस्ट चर्च भने बाइबलको शिक्षालाई केन्द्रमा राखेर अघि बढ्ने समुदाय हो।
मकवानपुरको हेटौँडास्थित ड्राइभरडाँडामा रहेको यस चर्चले १०० दिने निःशुल्क बाइबल सेमिनारी तालिम सञ्चालन गर्नुका साथै विपन्न समुदायलाई सहयोग, प्राकृतिक विपद्का बेला राहत वितरण तथा सामाजिक सेवाका विभिन्न कार्यहरू गर्दै आएको छ।
विगतमा सातौँ दिन विश्रामको अभ्यासलगायत धार्मिक मान्यताका कारण केही स्थानमा चर्चका कार्यक्रम सञ्चालनमा कठिनाइ र विरोध पनि भएको थियो। त्यस क्रममा चर्चका अगुवा पास्टर सिलास दिन दिएल (शैलेस) र वरिष्ठ पास्टर शमुएल शर्माले पनि चुनौतीहरूको सामना गर्नुपरेको मेरो अनुभव छ।
मेरो विश्वासमा, ख्रीष्टियन समुदायबीच मतभिन्नता हुन सक्छ, तर अन्ततः सबैको लक्ष्य परमेश्वरको महिमा गर्नु र बाइबलको सत्य सन्देशलाई जीवनमा उतार्नु नै हो। त्यसैले आपसी सम्मान, सहकार्य र धार्मिक स्वतन्त्रताको संरक्षण आजको आवश्यकता हो।